अस्ट्रेलियाका पूर्वक्रिकेटर डेमियन मार्टिन मेनिन्जाइटिसका कारण कोमामा

अस्ट्रेलियाका पूर्वक्रिकेटर डेमियन मार्टिन मेनिन्जाइटिसका कारण कोमामा



काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेमियन मार्टिनलाई मेनिन्जाइटिस भएको पत्ता लागेपछि कोमामा राखिएको छ ।

सन् १९९२ देखि २००६ सम्म ६७ टेस्ट क्रिकेट खेलेका ५४ वर्षीय मार्टिन यही डिसेम्बर २६ मा बिरामी परेका र क्वीन्सल्यान्डको एक अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ । सिड्नी मर्निङ हेराल्डको रिपोर्ट अनुसार आउँदा दिनमा मार्टिन कोमाबाट बाहिर निस्कने अपेक्षा गरिएको छ ।

डेमियन मार्टिनले अस्ट्रेलियाका लागि चार वटा एशेज टेस्ट शृङ्खला खेलेका छन् । उनले सन् २००६ मा तेस्रो टेस्टअघि अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । मार्टिन सन् १९९९ र २००३ मा लगातार दुई एकदिवसीइ विश्वकप जित्ने अस्ट्रेलियाली टोलीका सदस्य पनि हुन् ।

मार्टिनले ६७ टेस्टमा १३ शतक र २३ अर्धशतकसहित ४ हजार ४ सय ६ रन र २ सय ८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ शतक र ३७ अर्धशतकसहित ५ हजार ३ सय ४६ रन बनाएका छन् ।

मेनिन्जाइटिस भनेको मस्तिष्क र मेरुदण्ड वरिपरि रहेका सुरक्षात्मक झिल्लीहरूको सङ्क्रमण हो ।