पार्टी विभाजन नहोस् भन्ने हाे, सबैलाई मिलाएर लानुपर्छ : देउवा

पार्टी विभाजन नहोस् भन्ने हाे, सबैलाई मिलाएर लानुपर्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको आह्वानको तयारी गरेपछि संस्थापन पक्षका नेताहरूले देउवालाई भेटेका हुन् ।

आज बिहान महाराजगन्ज पुगेका नेताहरूसँग देउवाले आफू पार्टी नफुटोस् भन्नेमा सचेत रहेको बताएको एक केन्द्रीय सदस्यले बताए ।

ती नेताले भने, ‘हामीले पार्टी अप्ठ्यारो अवस्थामा छ । मिलाएर अघि बढ्नको लागि भूमिका खेल्नुस् भनेर ध्यानाकर्षण गरायौँ । उहाँले आफू पार्टी विभाजन नहोस् भन्ने चाहनामा रहेको बताउनुभयो । सबैलाई मिलाएर लान आफू तयार रहेको बताउनुभएको छ ।’

सभापतिको ध्यानाकर्षण गराएपछि यही समूहका नेताले अहिले महामन्त्रीद्वय थापा र शर्मासँग भेट गरिरहेका छन् ।

आजै विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै ५४ प्रतिशतको मागका आधारमा विशेष महाधिवेशनको घोषणा गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् । अन्यथा, अब विशेषको तयारी नरोकिने चेतावनी उनीहरूले दिएका छन् ।

आजै कांग्रेसको कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ ।