काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन स्थगन भएको भन्दै संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको बाटोमा अघि बढेपछि आज कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
त्यसअघि रणनीति बनाउन दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल जारी छ ।
यता विशेष महाधिवेशनका लागि हिजो हल बुक गरेर धुलिखेल लागेका महामन्त्री थापा पनि काठमाडौं फर्किएर आफूनिकटका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।
आजै विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै अब कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्पमा नरहेको अडान सुनाएका छन् ।
महामन्त्रीहरू विशेष महाधिवेशनको बाटोमा अघि बढेपछि सभापति शेरबहादुर देउवाले पनि सक्रियता बढाएका छन् । उनी आफूनिकट नेताहरूसँग निरन्तर संवादमा छन् ।
देउवासँगको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महेन्द्र यादवसहितका नेता सहभागी छन् ।
कार्यसम्पादन समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संस्थापन पक्ष छलफलमा जुटेको हो । याे पक्ष विशेष नभई नियमित महाधिवेशनको पक्षमा उभिएकाे छ ।


प्रतिक्रिया