कांग्रेस नेता शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्थाबारे छलफल

कांग्रेस नेता शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्थाबारे छलफल

‘बहुमतको निर्णय मान्न बाध्य भएँ, विशेष महाधिवेशन पक्षधरको भावनासँग सहमत छु’



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाबारेमा छलफल गरेका छन् । उनले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया गरी राय लिएका छन् ।

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्नेलगायत विषयमा छफफल भएको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको छ ।

आगामी आमनिर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषय, हालै पार्टीको अनुशासन समितिले गरेका कारबाहीको फुकुवालगायत विषयमा पनि छलफल भएको छ ।

नेता कोइरालाले विशेष महाधिवेशन पक्षधरहरूको भावनासँग सहमत भए पनि संस्थापन पक्षले बहुमतका आधारमा गरेको निर्णयमा विद्रोह गरेर जान नसकिएको बताएका छन् । उनले केन्द्रीय कार्यसम्पादन समितिले बहुमतको आधारमा गरेको निर्णयमा विद्रोह गर्न नसकिएको बताएका हुन् ।

‘विशेष महाधिवेशनको भावनासँग म सहमत छु । हस्ताक्षरकर्ताहरूको भावनासँग मेरो भावना जोडिएको छ । तर, केन्द्रीय कार्यसम्पादन समितिमा जुन बहुमतको निर्णय छ, त्यो मान्न बाध्य छौं,’ नेता कोइरालाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘निर्णयमा विद्राह गरेर जान सकिएन । निर्णय प्रक्रियामा बहुमतको निर्णय त मान्नै पर्‍यो ।’

नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता–कार्यकर्ताहरूको भावना सम्बोधनका लागि केन्द्रीय कार्यसमितिलाई ‘कन्भिन्स’ गराउन खोजे पनि सफल हुन नसकेको पनि बताए । ‘मैले कार्यसमितिलाई कन्भिन्स गर्ने प्रयास गरेँ । मेरो प्रयास सफल भएन,’ ती नेता भने ।