काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि बंगलादेशको टोली घोषणा भएको छ । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले लिटन दासको कप्तानीमा आज १५ सदस्यीय टोली घोषणा गरेको हो ।
बंगलादेशको टोलीमा तीव्र गतिका बलर तस्किन अहमद फर्किएका छन् । यस्तै बंगलादेशका लागि लगातार ४५ टी–२० खेलेपछि जाकर अलीलाई २०२४ को मार्चपछि पहिलो पटक टोलीबाट बाहिर राखिएको छ । उनले राम्रो प्रदर्शन गर्न नसक्दा उनलाई विभिन्न फम्र्याटहरूमा टोलीबाट बाहिर राखिएको छ ।
टी–२० विश्वकपमा बंगलादेशले समूह चरणमा पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा खेल्ने तालिका छ । यद्यपि मुस्ताफिजुर रहमान विवादका कारण बीसीबीले यी खेलहरू श्रीलङ्कामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्र लेख्ने बताएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आदेशमा कोलकाता नाइट राइडर्सले मुस्ताफिजुरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को टोलीबाट हटाएपछि विवाद बढेको हो ।
१०औं संस्करणको टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपाल पनि सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ । प्रतियोगितामा २० वटा टोली सहभागी छन् । प्रतियोगिताका लागि अहिलेसम्म बंगलादेशसहित साविक विजेता भारत, नामिबिया, जिम्बावे, ओमानले अन्तिम टोली घोषणा गरिसकेका छन् ।



प्रतिक्रिया