सुमो दुर्घटना : मृतक ६ मध्ये पाँचजनाको सनाखत

सुमो दुर्घटना : मृतक ६ मध्ये पाँचजनाको सनाखत



मकवानपुर । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म पाँचजनाको सनाखत भएको छ ।

सुमो दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडाका ४० वर्षीया सविता लम्साल, हेटौँडा–२, कान्ति राजपथका २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा–१०, भुटनदेवी टोलका ५६ वर्षीय कृष्णप्रसाद फुयाँल, भारतको बिहारका ५० वर्षीय अरविन्द कुमार र बिहारकै ४२ वर्षीय रजनीश कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका सुमो चालक हेटौँडा–४, कर्रा चोकका ४५ वर्षीय गणेश थापा, मृतक सविताकी १२ वर्षीया छोरी अभ्यास लम्सालको उपचार जारी छ । चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उनीहरूको उपचार भइरहेको छ ।

अर्का घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ की २१ वर्षीया ऋचा चौधरीको पनि उपचार जारी छ । हेटौँडा अस्पतालमा उनको उपचार भइरहेको डीएसपी बोगटीले बताए ।

काठमाडौंबाट हेटाँैडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो गाडी आइतबार (पुस २०) साँझ सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनापश्चात् उद्धार गरेर उनीहरूलाई उपचारका निम्ति हेटौँडा अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा ६ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।