काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेता विशेषको अनुहार हेरेर निर्वाचनमा कांग्रेसले भोट नपाउने बताएका छन् ।
महाधिवेशन नभए निर्वाचनमा भाग नलिने चेतावनी दिँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै सिटौलाले यस्तो कटाक्ष गरेका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले चुनाव लड्ने वा नलड्ने व्यक्तिको कुराले पार्टीलाई फरक नपार्ने पनि बताए ।
‘चुनाव लड्ने नलड्ने व्यक्तिगत कुरा हो । तर पार्टीको निर्णय सबैले मान्नुपर्छ,’ सिटौलाले भने, ‘चुनावमा कसैको अनुहार हेरेर भोट आउँदैन । विगतमा गरेका काम र घोषणापत्रको आधारमा मत आउँछ ।’
विशेष महाधिवेशन गर्ने हो भने नियमितको कार्यतालिका किन ल्याएको भन्दै उनले महामन्त्रीहरूको आलोचना पनि गरे ।
‘विषेश महाधिवेशन गर्ने हो भने महामन्त्रीले कार्यतालिका किन ल्याउनुभएको ? कार्यवाहक सभापतिले किन तालिका ल्याउनुभएको ?,’ सिटौलाले प्रश्न गर्दै सोधे, ‘हस्ताक्षरकर्तालाई काठमाडौं आउन आवश्यक छैन । चुनावको काम गर्नुस् संगठन बनाउनुस् । ६ गते मनोनयन छ तयारी गर्नुस् ।’


प्रतिक्रिया