कुलमान, जगदीश र बब्लुलाई मन्त्री छोड्न प्रधानमन्त्रीको निर्देशन

कुलमान, जगदीश र बब्लुलाई मन्त्री छोड्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिकमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् ।

चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी हुन् ।

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङसहित, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पार्टीकेन्द्रित गतिविधिमा लागेकामा प्रधानमन्त्रीले गुनासो गरेकी हुन् ।

‘हामी अहिले फरक परिस्थितिमा छौं । यस अवधिसम्म तपाईंहरूले सरकारमा बसेर राम्रो योगदान गर्नुभयो । तर अब हामी अर्को चरणमा प्रवेश गर्दैछौं । यस्तो अवस्थामा केही साथीहरू राजनीतिमा जान चाहेको, चुनाव लड्न चाहेको प्रस्ट देखिएको छ । त्यसो हुँदा उहाँहरूले राजनीतिमा जाने हो भने तत्काल मार्गप्रशस्त गर्दा राम्रो हुन्छ’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’ अरू साथीहरू जसले यस्तो चाहना राख्नुभएको उहाँहरूका लागि पनि त्यही कुरा लागू हुन्छ । हामी कस्तो परिस्थितिमा छौं तपाईंहरूलाई थाहा छँदैछ । यो विषय तपाईंहरू आफैं बुझ्नुहुन्छ । त्यस हिसाबले आफैंले जे गर्दा ठीक हुन्छ त्यो निर्णय आफैं गर्नुहोला ।’

मन्त्री घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति छन् । रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्ता र छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सक्रिय बनेका थिए । घिसिङ र गुप्ता दुवै रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उठ्ने तयारीमा छन् ।

रास्वपा र काठमाडौंका मेयर बालेन्द्र शाहबीच भएको ७ बुँदे सम्झौतापछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना । गन्तव्य तय हुँदै छ’ भनी सामाजिक सञ्जालमा लेखेका थिए । यसलाई लिएर खरेल पनि रास्वपा जाने र चुनाव उठ्ने तयारीमा रहेको अनुमान छ ।