काठमाडौं । घरेलु मैदानमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघि नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बावेसँग अभ्यास खेल खेल्ने भएको छ ।
अभ्यास खेलमा नेपालले भोलि अमेरिका, पुस आउँदो शुक्रवार स्कटल्यान्ड र आइतवार जिम्बावेसँग खेल्नेछ । यी खेल माथिल्लो मूलपानी मैदानमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ । प्रतियोगिता आउँदो माघ २ गतेदेखि १८ गतेसम्म कीर्तिपुरको त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछ । नेपालले माघ २ गते माथिल्लो मूलपानी मैदानमा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।
१० वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुआ न्यु गिनी (पीएनजी), नामिबिया र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स रहेका छन् ।
प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।


प्रतिक्रिया