काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ चोटका कारण ९ महिनादेखि १२ महिनासम्म मैदानबाहिर रहने भएकी छिन् ।
अस्ट्रेलियन ए लिग फुटबलमा वेलिङ्गटन फिनिक्सबाट खेलिरहेकी भण्डारीको घुँडामा गम्भीर चोट लागेको र उनले लिगका बाँकी खेल गुमाउने क्लबले जनाएको छ ।
गएको शनिवार ब्रिस्बेन रोअरसँगको खेलका क्रममा भण्डारी विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किन पुगेकी थिइन् । उनको दाहिने घुँडाको ‘एसीएल’ पूर्णरूपमा च्यातिएको एमआरआई रिपोर्टले देखाएको छ ।
योसँगै सावित्रा भण्डारी चोटका कारण सिजनको अन्त्यतिर टोलीबाट बाहिरिने तेस्रो खेलाडी बनेकी छिन् । यसअघि मिडफिल्डर टेसेल मिडाग र एलिसा व्हिनह्याम टोलीबाट बाहिरिएका थिए ।
यसै सिजन अस्ट्रेलियन ए लिगमा आबद्ध भएकी भण्डारीले तीन गोल गरेकी छिन् ।


प्रतिक्रिया