देश जलाउने अपराधी र देशद्रोही हुन् : ओली

देश जलाउने अपराधी र देशद्रोही हुन् : ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते देश जलाउनेहरू नेपाली हुनै नसक्ने भन्दै देशद्रोही र अपराधी भएको बताएका छन् ।

उनले जेनजीहरु उक्त कार्यमा नलागेको भन्दै उक्त घटना तात्कालिक नभएर आठ दश वर्ष अघिको योजना भएको दाबी समेत गरे ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘यो तात्कालिक होइन, आठ दश वर्ष देखिको तयारी हो । देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, कुनै आन्दोलनकारी होइनन्’ ओलीको भनाइ छ । उनले बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका र बेचिएका तत्त्वहरूले देश चलाएको भन्दै यो नेपाली आचरण, बुद्धि, मति र अभ्यास आचरण हुनै नसक्ने बताए ।

‘संसद् भवन जलाउने काम, सरकारको मुख्यालय जलाउने काम, सर्वोच्च लगायतका अदालत जलाउने काम, त्यो ठाउँमा खोजी खोजी जलाइएको छ जहाँ खास मान्छेका मिसिल छन्’, ओलीले भने, ‘ट्रेन मान्छे गएको छ । कार्यालय र घर लोकेट गरिएको छ ।’‎

ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउनको लागि योजनाबद्ध रूपमा काम अघि बढाएको स्मरण गरेका छन् । चुनौतीका बीचमा पनि काम अघि बढाउँदै गर्दा अप्रत्याशित परिस्थिति आएको बताए ।

उनले भने, ‘हामीले देशलाई जोगाएर ल्याएका छौँ। सबैलाई थाहा छ एमालेको दृष्टिकोण र अडान स्पष्ट छ । यो निरन्तर जारी रहन्छ। राष्ट्रियताको पक्षमा, सुशासन र विकासको पक्षमा ।’

अहिले देशलाई जातजाति, भूगोल र भाषाभाषामा फुटाउने प्रयास भइरहेको बताए ।