काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीबाट नाम फिर्ता लिनेको सङ्ख्या आठ पुगेको छ । रास्वपाका समानुपातिक उम्मेदवार डा. रामजी राम र भ्लगर सिर्जना सिज्जुले बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेसँगै नाम फिर्ता लिनेको सङ्ख्या आठ जना पुगेको हो ।
दुवै जनाले सामाजिक सञ्जालमा लेख्दै उम्मेदवारी फिर्ता लिने जानकारी गराएका हुन् । डा. राम पूर्णछात्रवृत्तिमा एमबीबीएस अध्ययनका क्रममा शिक्षण संस्थासँगको विवादबाट चर्चामा आएको हो भने सिर्जना वली सोलो ट्राभल गर्दै पर्यटन प्रवर्द्धन गरिरहेका छन् ।
यसअघि रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे, पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह, उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाल र कुलमान टिमका महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका छन् ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा विभिन्न क्षेत्रका चर्चित व्यक्ति पनि समेटिएका थिए ।


प्रतिक्रिया