बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ : गगन थापा

बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ ।

बुधबार कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ उनले भनेका छन्, ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विषय पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु ।’

उनले जीवन्त पार्टी बनाउन खोजेकाे बताए । ‘हाम्रो प्रयास भनेको पार्टीलाई सान्दर्भिक बनाइराखौं भन्ने हो । नौजवानका भावनालाई सम्बोधन नगर्ने हो भने पार्टी मृत बन्छ । त्यसैले जीवन्त पार्टी बनाउन खोजेका हौं,’ उनले भने ।