चितवनमा साउनयता ९ वटा गैँडा मरे

चितवनमा साउनयता ९ वटा गैँडा मरे



चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवम् आसपासमा ती गैँडा मरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँच वटा भाले र तीन वटा पोथी गैँडा मरेका हुन् । एउटाको लिङ्ग पहिचान हुन नसकेको उनले जानकारी दिए । मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर हो भने अन्य सबै प्राकृतिक कारणले मरेका उहाँको भनाइ छ ।

पछिल्लो पटक पुस २२ गते एउटा भाले गैँडा मरेको जनाउँदै मगरले कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको बताए । ‘यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित अवस्थामा थियो’, उनले भने ।

हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरलगायत प्रमुख कारणले मर्ने गरेका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । उनका अनुसार यस निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ वटा गैँडा रहेका छन् ।