शेखर र मीनेन्द्रले गरे देउवासँग डेढ घण्टा छलफल

शेखर र मीनेन्द्रले गरे देउवासँग डेढ घण्टा छलफल



काठमाडौं । नेपाली कांग्रेस विभाजनको सँघारमा पुगेको भन्दै नेता डा. शेखर कोइराला र नेता डा. मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा छलफल गरेका छन् ।

रिजाललाई लिएर बिहीबार बिहान महाराजगन्जस्थित देउवानिवास पुगेका कोइरालाले पार्टी फुटबाट जोगाउन प्रयास थाल्न आग्रह गरेका हुन् ।

त्यहाँ उनले झन्डै डेढ घण्टा संवाद गरेका कोइरालाको सचिवालयले जनाएको छ । पार्टी फुटाएर जानेलाई भन्दा ज्यादा पीडा संस्थापनलाई हुने भन्दै उनले विशेष महाधिवेशन अहिले रोकिन र गर्नैपरे केन्द्रीय समितिको आयोजनामा गर्ने वातावरण मिलाउन आग्रह गरे ।

उनले कार्यवाहक दिएको छु भनेर भोलि आउने दोषबाट उन्मुक्ति नहुने भन्दै देउवालाई समय छँदै अग्रसरता लिन आग्रह गरे । पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्न उनले जोड दिए ।

जवाफमा देउवाले आफ्ना टिमका नेताहरूसँग पनि यसबारे छलफल गर्ने बताए । त्यसपछि कोइरालाले आफ्नो टिमका पदाधिकारीसहित आजै दिउँसो २ बजे पुनः महाराजगन्ज आउने जानकारी गराएर त्यहाँबाट निस्किए ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गरिने भन्दै प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेका छन् ।

संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन बोलाउने अधिकार पार्टी केन्द्रीय समितिबाहेक अरुलाई नहुने भन्दै पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन अपिल गरेकाे छ ।