युवा भेला गराएर संस्थापनले मुठभेडको अवस्था सिर्जना गर्न खोज्याे : विशेष महाधिवेशन पक्ष

युवा भेला गराएर संस्थापनले मुठभेडको अवस्था सिर्जना गर्न खोज्याे : विशेष महाधिवेशन पक्ष



काठमाडौं । नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षले आफूहरूले विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो पक्षले विशेष महाधिवेशन राखेकै दिन काँग्रेस केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय समितिका नाममा र युवा भेला भनेर केन्द्रीय कार्यालयमा अर्को एउटा भेला आयोजना गरेर काँग्रेसका कार्यकर्ताबीच मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको हो ।

विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफूहरूको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरूले आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा काँग्रेस विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु सिवाकोटीले विशेष महाधिवेशन पक्षले पार्टी कार्यालय कब्जा गर्छन् भन्ने लागेर युवा भेला बोलाइएको हो भने त्यस्तो खालको बालहटको काम आफूहरूबाट नहुने बताए । उनले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई खारेज गरिएको उल्लेख गरे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा उपस्थितिका लागि सहभागिताका लागि आग्रह गरेको अवस्थामा पुष २७ र २७ गते हुने विशेष महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढेको उनले बताए ।