काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए ।
त्यस्तै आजको बैठकले विशेष महाधिवेशनका लागि आह्वान नभएको भन्दै मुख्यमन्त्री कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिलाई पार्टीले अपनत्व लिने निर्णय पनि गरेको छ ।
विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको आग्रह महामन्त्री गगन थापाले अस्वीकार गरेका छन् ।
महाधिवेशनको कार्यसूची आइसकेकाले यस्तो बेलामा विशेष महाधिवेशन आवश्यक नभएको भन्दै विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गरेका थिए । त्यो अपिल थापाले अस्वीकार गरेका हुन् ।
बैठकमा महामन्त्री थापाले भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो । चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन ।’


प्रतिक्रिया