काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पुस २७ को विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरेका छन् ।
उनले कांग्रेस कार्यसम्पादन बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कार्यवहाक सभापति पूर्णबहादुर खड्कामार्फत देउवालाई सहभागी हुनका लागि अनुरोध गरेका हुन् ।
केन्द्रीय समितिले विशेष महाधिवेशन आयोजना नगर्ला भनेर कल्पना नै नगरिएको भन्दै देशभरिबाट प्रतिनिधिलाई बोलाइएको महामन्त्री थापाले बताए ।
‘हामीले देशभरिका साथीहरुलाई आह्वान गरेका छौं, सबै साथीहरु आउनुहुन्छ भन्ने विश्वास छ, मैले कार्यवहाक सभापतिमार्फत भनेको छु, सभापतिज्यूमा यो कुरा पुर्याइदिनु होला,’ उनले भने, ‘यो अधिवेशन हाम्रो हो, यसलाई केन्द्रीय कार्यसमितिले स्वामित्व लिन्छ भन्ने हाम्रो विश्वास हो, उनले भने ।
महामन्त्री थापाले नेपाली कांग्रेसको नीति र नेता दुवै फेर्नु पर्ने बताए । उनले संवेदनशील अस्था भएकाले विशेष महाधिवेशन माग गरिएको बताए । ‘विधानको पालनाको गर्दाखेरि पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको ?’ गगनले प्रश्न गरे ।
‘पार्टी टुट्ने भनेको औपचारिक रुपमा पार्टी टुट्ने होइन, पार्टीका कार्यकर्ताको विश्वास टुट्ने कुरा हो’ महामन्त्री थापाले भने, ‘पार्टी जुनै निर्णयमा पुगे पनि कार्यकर्तासँग एक ठाउँमा बसे पो पार्टीका साथीहरुको मन रहन्छ ।’
विशेष महाधिवेशन माग गर्ने आफूहरु नभएको सिनियर जुनियर ४० प्रतिशत रहेको थापाले बताए । सङ्ख्याको आधारमा पार्टीमा ठेल्ने पेल्ने काम वर्षौंदेखि भइरहेको उनको आरोप थियो ।
‘कति ठाउँ हार्यौं होला, कति ठाउँ चुक्यौं होला तर यो पटक दुई वटा महामन्त्रीलाई पेल्नु पर्छ भन्दाखेरि यो हदसम्म पुग्यो,’ थापाले भने, ‘४० प्रतिशतले माग गर्दा महाधिवेशन हुनुपर्छ भनेर विधानमा भनिएको छ, माग गर्दा पनि महाधवेशन बोलाइएन भने के गर्ने भन्ने कुरा कतै लेखिएको छैन ।’


प्रतिक्रिया