विशेष महाधिवेशन पार्टीको हितमा नरहेको कांग्रेस संस्थापनको भनाइ

विशेष महाधिवेशन पार्टीको हितमा नरहेको कांग्रेस संस्थापनको भनाइ



काठमाडौं । नेपाली कांग्रेसले अहिलेको अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा नरहेको जनाएको छ ।

हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा नभएको उल्लेख छ । यसले पार्टीलाई विभाजनतिर लैजानसक्ने र चुनावमा क्षति पनि पुग्न सक्ने विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा विशेष महाधिवेशन अवैधानिक तरिकाले आह्वान गरिएको भन्दै वैधानिक हुन नसक्ने पनि उल्लेख छ । ‘नियमित महाधिवेशनको आवश्यक प्रकृया अघि बढिसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय पनि गरेको छ । हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए । बैठकमा विशेष महाधिवेशन पक्षका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने उपस्थित भएका थिएनन् ।