काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आमजनताले नरुचाएको बताएका छन् । उनले राजनीतिक दलबीच सहकार्य हुनु स्वाभाविक भए पनि आमनागरिकले सकारात्मक रूपमा नलिएको बताएका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा मतभारका आधारमा सिट बाँडफाँट हुनुपर्ने प्रस्ताव पार्टीले अघि सारे पनि कांग्रेस–एमाले त्यसनिम्ति तयार नभएको उनले उल्लेख गरे । उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि नेकपाले कुनै दलसँग सहकार्य नगर्ने बताए ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने सुनाए । एक्लै चुनाव लड्न आमजनताबाट समेत सुझाव प्राप्त भएको उनको भनाइ छ ।
नेता सापकोटाले महाधिवेशनका विषयमा नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्त्विक असर नपार्ने बताए । एकताबद्ध हुनु पार्टीका निम्ति हितकर हुने भन्दै उनले विभाजिततर्फ नजान आग्रह पनि गरे ।


प्रतिक्रिया