खेलकुद मन्त्री गुप्ताले स्थगित गरे अमेरिका भ्रमण

खेलकुद मन्त्री गुप्ताले स्थगित गरे अमेरिका भ्रमण



काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने कार्यक्रम स्थगित गरेका छन् ।

मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालका अनुसार समय अपुग भएकाले मन्त्री गुप्ता अहिलेका लागि अमेरिका नजाने भएका हुन् । ‘भिसा लगायतका प्रक्रियाका लागि समय लाग्ने भयो । त्यसैले समय अपुग भएकाले उहाँ अहिलेका लागि अमेरिका जानु हुन्न,’ उनले भने ।

यसअघि मन्त्रिपरिषदले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएपछि यो विषय चर्चामा आएको थियो ।

मन्त्रीले बनावटी कार्यक्रम बनाएर अमेरिकाको भिसा लगाउन खोजेको आरोप कतिपयले लगाएका छन् ।

मन्त्रिपरिषदले एनआरएनएको कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति दिएको थियो । तर, अमेरिकामा एनआरएनएको कुनै कार्यक्रम नै नरहेको समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि विवाद उब्जिएको हो ।

कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको थियो । तर सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनेर विज्ञप्ति निकालेको थियो । त्यसपछि मन्त्री अमेरिका जाने कार्यक्रम झनै विवादित बनेको थियो ।