विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी

विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी

पार्टी विभाजन रोक्नको लागि दिनरात खटिरहेका छाैँ : सुनिल शर्मा



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विशेष महाधिवेशनलाई नीति महाधिवेशन मात्रै बनाएर संकल्प प्रस्ताव मात्रै पास गर्नुपर्ने बताएका छन् ।

शनिबार बत्तीस पुतलीमा पत्रकार सम्मेलन गरेर भण्डारीले विशेष महाधिवेशनलाई नीतिगत सम्मेलन बताउँदै संकल्प प्रस्ताव पास मात्रै गरेर जान विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरेका हुन् ।

‘विशेष महाधिवेशनको नाममा देशभरिबाट साथीहरू आउनुभएको छ। हामी आग्रह गर्छौं यसलाई नीतिगत सम्मेलन वा संकल्प प्रस्ताव पास गरेर जाऔँ । अबको चार महिना पछि नियमित महाधिवेशनमा आउने साथीहरूलाई खुराक दिएर उत्साहित बनाएर जाऔँ,’ भण्डारीले भने ।

उनले कुनै पनि हालतमा पार्टी विभाजन हुन नहुने बताए । इतिहासले दिएको जिम्मेवारीलाई पूरा गर्दै अगाडि बढ्नु कांग्रेसको दायित्व भएको नेता भण्डारीले बताए ।

‘नेपाली कांग्रेसले विगत सम्झिएन भने आफ्नो भविष्य पनि सुरक्षित गर्न सक्दैन,’ उनले भने, ‘नीतिगत वा शंंकल्प महाधिवेशनमा रुपान्तरण गरेर चार महिना पछाडिको महाधिवेशनमा थप बलियो भएर आउन पार्टीका साथीहरूलाई भन्ने हो ।’

जेनजी आन्दोलन भएको अवस्थामा पार्टीले नयाँ ढंगले देशलाई नेतृत्व गर्नुपर्नेमा त्यसो गर्न नसकेको उनको भनाइ छ । जेनजी आन्दोलनपछि विशेष महाधिवेशन हुनुपर्नेमा त्यसो हुन नसकेको भण्डारीले बताए ।

पार्टी विभाजन रोक्नको लागि दिनरात खटिरहेका छाैँ : सुनिल शर्मा

अर्का नेता सुनिल शर्माले पनि आफूहरू पार्टी विभाजन रोक्नको लागि दिनरात खटिरहेको बताए । आफूहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि भेटेर पार्टीपंक्ति उत्साहित हुने गरी निकास निकाल्न आफूहरू लागिरहेको बताए ।

उनले विधानको व्यवस्थालाई बेवास्ता गरेर संस्थापन पक्ष अगाडि बढ्नु नै कमजोरी भएको बताए । उनले भने, ‘विधानको व्यवस्थालाई संस्थापन पक्षले बेवास्ता गरेकै कारण कांग्रेस अहिले भिरको डिलमा पुगेको छ । कांग्रेसभित्र सङ्कट पर्नु भनेको मूलकलाई सङ्कट पर्नु हो। त्यसैले हामीले यसलाई रोक्न आग्रह गरिरहेका छौँ ।’

उनले अहिलेको विवाद मिलाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हुने बताए ।