विशेष महाधिवेशनले नीति पास गरोस् : चतुरबहादुर चन्द

विशेष महाधिवेशनले नीति पास गरोस् : चतुरबहादुर चन्द



काठमाडौं । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनले क्रियाशील सदस्यदेखि सभापति शेरबहादुर देउवासम्मको साझा हिस्सादार लिने पार्टी बनाउने अठोट गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटनसत्रमा उनले दृढ संकल्पको आवश्यकता औँल्याए ।

“विशेष महाधिवेशनले एउटा दृढ संकल्प लियोस् । नीति पास गरोस् । कांग्रेसभित्रको सबै विकृति अन्त्य हुने गरेर अनुशासित तवरले सबै क्रियाशील सदस्यदेखि लिएर केन्द्रीय सभापतिसम्मको साझा हिस्सेदार कांग्रेस बनाउने अठोट गरोस्,” उनले भने ।

उनले जनताले कसलाई खोजेको छ भन्ने हिसाबले युवालाई अघि बढाउने अठोट महाधिवेशनले गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी, कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको बन्दसत्रमा उपस्थित हुन आग्रह गरे ।

उनले आज नभ्याएकाले उपस्थित नभएको होला भन्दै कटाक्ष समेत गरे । “आदरणीय सभापति शेरबहादुर देउवाज्यू, कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका पदाधिकारी साथीहरू नभ्याउनु भएकाले उपस्थित नहुनुभएको होला । भोलिको बन्दसत्रमा हामी तपाईंहरूको इन्तजार गरेर बस्नेछौँ,” उनले भने ।

उनले आफूहरूले पार्टी नफुटाउने बताए । आजको उपस्थितिलाई नजरअन्दाज गरे नेतृत्व परिवर्तनको अधिवेशन बन्ने चेतावनी दिए । “आउनुहोस्, अझ पनि समय छ । हाम्रो कारणले पार्टी फुट्ने छैन । यी टिके ६ भाइको मात्रै कुरा नसुन्नुस् सभापतिज्यू । हामी पनि तपाईंका भाइ, भतिजा हौँ । हाम्रा पनि कुरा सुुन्नुहोला सभापतिज्यू,” उनले भने, “यो जमातलाई नजरअन्दाज गर्नुभयो भने नीति परिवर्तनको अधिवेशनबाट नेतृत्व परिवर्तनको अधिवेशन हुन सक्छ हेक्का राख्नुहोला ।”