काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईपल्ट भन्दा धेरै प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आएको बताउँदै विशेष महाधिवेशनबाट पारित गराउने बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कांग्रेसमात्रै होइन कुनै पनि पार्टीको नेता दुईपल्टभन्दा प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ,’ उनले भने, ‘कांग्रेसभित्रैबाट उठेको रुपान्तरण हो भन्ने लाग्न सक्छ । मैले यो कुरा सभापति शेरबहादुर देउवालाई पनि भनेको थिएँ । तर उहाँले मान्नुभएन ।’
महामन्त्री शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् । उनले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताए ।
उनले भने, ‘अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउनुछ । पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन । यो उपस्थितिले कांग्रेस बदल्ने मात्र होइन, देश बदल्ने सोच राखेको छ ।’
उनले हिजोभन्दा आज कांग्रेस आफूभित्रको चुनौतीको सामना गरिरहेको पनि बताए । महामन्त्री शर्माले विशेष महाधिवेशनले कांग्रेस सुधार गर्ने सङ्कल्प गर्ने बताए ।
पार्टीमा भएको कमीकमजोरीको ड्राइभिङ सिटको छेउमा आफूहरू पनि बसेकाले जिम्मेवारी लिने बताए । महामन्त्री शर्माले समय अनुकूल कांग्रेलाई परिवर्तन गर्नका लागि विशेष महाधिवेशनको मैदानमा उभिएको बताए ।
शर्माले भने, ‘देशको समयलाई कुनैबेलामा कांग्रेसले आफू अनुकूल बदलेको थियो, आज बदलिएको समयानुकूल कांग्रेसले आफूलाई बदल्नु छ त्यसका लागि हामी विशेष महाधिवेशनको मैदानमा खडा भएका छौं ।’
विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिए ।


प्रतिक्रिया