कांग्रेस दास र लाशहरुको पार्टी होइन : गगन थापा

कांग्रेस दास र लाशहरुको पार्टी होइन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस दास र लाशहरुको पार्टी नभएको बताएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कांग्रेस दास र लाशहरुको पार्टी होइन । कांग्रेसमा प्रश्न मरेको छैन । यहाँ कोही बा छैन नबोल भन्दा बोल्न छाड्ने छैन,’ उनले भने, ‘पार्टीभित्र कोही मालिक र दास छैन । थियो भने पनि आजबाट भत्कियो । भोलि जो आए पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । तल बस्नेलाई माथि बस्नेले निहुरिएर जय नेपाल गर्नुपर्छ ।’

उनले विशेष महाधिवेशनले के निर्णय गर्छ भन्ने बारेमा आफूलाई केही थाहा नभएको बताए । ‘यो कहाँ गएर टुंगिन्छ थाहा छैन । भोलि अधिवेशनको हाउस बस्छ । त्यसले जे निर्णय गर्छ । मेरो लागि त्यो स्वीकार्य छ । मैले त्यसलाई मान्नुपर्छ,’ उनले भने ।

महामन्त्री थापाले पार्टी सञ्चालनको लामो समयदेखिको तरिका भत्किएको बताएका छन् । उनले अब कसैले पनि पार्टीमा हेप्न नसक्ने बताए ।

‘लामो समयदेखि जाम भएर बसेको, लामो समयदेखि पार्टी सञ्चालनको तरिका जसरी रह्यो त्यो भत्क्यो । भोलि जो सुकै आओस् । कसैले पनि पार्टी सदस्यलाई हेप्न सक्दैन । तल बस्नेलाई माथि बस्नेले निहुरिएर जय नेपाल गर्नुपर्छ,’ उनले भने ।