काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन् । माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्री बनाउने चटारो परेको हो ।
जानकी मात्र होइन, तुलसीपुर–१० बनकाउकी विझौनी थारू लगायत यतिबेला दाङका थारू बस्तीका हरेक घरमा महिलाहरू ढिक्री बनाउन भ्याइनभ्याइ अवस्थामा छन् । थारू समुदायले हरेक चाडपर्वमा ढिक्रीलाई मुख्य परिकारका रूपमा लिने गर्छन्, जसलाई विशेषगरी सुँगुरको मासु, माछा र घोँगीसँग स्वाद लिई खाने प्रचलन छ ।
चामलको पीठोबाट तयार पारिने ढिक्री बनाउने आफ्नै मौलिक तरिका छ । चामलको पीठोलाई पानीले मुछेर विभिन्न आकार दिने गरिन्छ । माघीका लागि विशेषगरी लाम्चो आकारको ढिक्री बनाइने भए पनि दसैँमा गोलो र तिहारमा दियो जस्तो चेप्टो आकार दिने परम्परा छ । यसरी तयार पारिएको पीठोको आकारलाई पानीको बाफमा करिब आधा घण्टासम्म उसिनेपछि खानका लागि योग्य हुन्छ ।
स्वास्थ्यका दृष्टिकोणले पनि ढिक्रीलाई निकै उत्तम परिकार मानिन्छ । तेल वा चिल्लो पदार्थ र चिनीको प्रयोग नहुने भएकाले यसले शरीरलाई हानि गर्दैन । उसिनेर तयार पारिने यो शुद्ध परिकार खाँदा मानिसको आयु बढ्ने पौराणिक मान्यता समेत थारू समुदायमा रहिआएको छ । माघी नजिकिँदै गर्दा गाउँघरमा ढिक्रीको बास्ना चल्न थालिसकेको छ भने यसले समुदायमा उत्सवको रौनक थपिदिएको छ ।


प्रतिक्रिया