काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने दाबी गरेका छन् । सोमबार विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेपालको संविधानको आधारमा बनेको राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कांग्रेसको विधान निर्वाचन आयोगले पारित गरेको विधान हो । त्यसैले एक दुई तीन निर्वाचन आयोगले विशेष महाधिवेशन अवैधानिक भन्न सक्दैन ढुक्क भएर बस्नुस् ।’ उनले भने ।
कांग्रेस विधानको धारा १७ को उपधारा २ मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर निवेदन दिएको खण्डमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान छ ।
गएको असोज २८ गते ५४ प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष महाधिवेशनको निवेदन कांग्रेस केन्द्रीय कार्यालयमा दिइएको थियो ।
उनले विशेष महाधिवेशन कसरी वैधानिक हो भनेर आफ्नो प्रतिवेदनमा राखेको पनि बताए ।
उनले पेस गरेको प्रतिवेदनमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई लिएर पार्टीको संकल्प केके हुने भन्ने उल्लेख छ ।
‘भदौ २३ र २४ गते नवयुवा पुस्ता (जेन- जी) को आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ । भाद्र २३ र २४ गते घटेका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ,’ उनले भनेका छन्, ‘ उनले भनेका छन्, ‘उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवर्द्धन, सेवा प्रवाह र युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गरी संकल्प गर्दछ ।’


प्रतिक्रिया