सिन्धुपाल्चाेक । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा ठूलाे डढेलो लागेपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्णरूपमा बन्द भएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो ।
गएराति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा शुरू भएको डढेलो अहिलेसम्म ननिभेपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानजकारी दिए ।
राईका अनुसार आगो फैलिँदै गएपछि स्थानीयवासी तथा पर्यटक आवतजावतसँगै मालवाहक गाडीको आवागमनसमेत ठप्प भएको छ । उनका अनुसार नाकासँग जोडिएको लिपिङ र तातोपानीलगायत आसपासका क्षेत्रको आकाश धुँवा र खरानीले ढाकिएको तथा आगलागीले सीमा क्षेत्रको सञ्चार तथा नेटवर्क सेवासमेत प्रभावित भएको छ ।
गएको वर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको धेरैजसो व्यापार तातोपानी नाकामार्फत हुँदै आएको थियो । तर अहिले तातोपानी नाका बन्द भएपछि करोडौँ मूल्यका आयातित सामान बोकेका कन्टेनर रोकिएका छन् ।
नाका कहिले खुल्ने भन्ने टुङ्गो नलाग्दा व्यवसायी र आयातकर्ता थप सङ्कटमा परेको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटा बताउछन् ।


प्रतिक्रिया