पार्टी विभाजन रोक्ने प्रयास हुँदैछ : शशांक कोइराला

पार्टी विभाजन रोक्ने प्रयास हुँदैछ : शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी विभाजन रोक्ने प्रयास भइरहेको बताएका छन् । सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा भएको छलफलपछि बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले मिलाउने प्रयास भइरहेकाे बताएका हुन् ।

उनले भने, ‘मिलाउने प्रयास हुँदैछ । पार्टी कुनै हालतमा पनि ब्रेक गर्न हुँदैन भन्ने कुरा भयो ।’ उनले शेखर कोइराला पनि आएर विभाजन रोक्नेबारे कुरा गरेको बताए ।

त्यसैगरी नेता ज्ञानेन्द्र कार्कीले संस्थापन पक्षको तर्फबाट सहमति, संवाद र एकताको लागि ढोका सधैँ खुला रहेको बताए । उनले अहिले पार्टी अप्ठेरो अवस्थामा रहेको भन्दै पार्टीको विधि, पद्धति अनुसार नै अघि बढ्ने बताए ।

उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । र पार्टी पनि त्यतिकै गम्भीर अवस्थामा छ । पार्टीको विधि, पद्धति र मान्यताहरू छन्, ती मान्यता अनुसार नै अघि बढ्नुपर्छ ।’

विशेष महाधिवेशनको औचित्य नभएको केन्द्रीय कार्यसम्पादन समितिले भनिसकेको बताए । निर्वाचनपछि वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको भन्दै त्यही अनुसार अघि बढ्ने बताए ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा आज बन्दसत्र जारी छ । बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू छन् ।