काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको कार्यविधि पारित गरेपछि सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूलाई आफ्नै निवास महाराजगञ्जमा बोलाएर छलफल गरे ।
छलफलमा सभापतिले दुवै महामन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने विषयमा कुराकानी भएपछि महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बाेलाएर तयारी गरिएकाे छ ।
नेता मिनबहादुर विश्वकर्माले सोमबार आफूहरू देउवा निवासमै गएर महामन्त्रीद्वय थापा र शर्मासँग कुरा गर्न सुझाएको बताए ।
‘हामीले पार्टीलाई फुटबाट जोगाउन महामन्त्रीहरूलाई बोलाएर उहाँहरूका कुरा के छन् सोध्नुपर्यो, बुझ्नुपर्यो भन्यौं,’ उनले भने, ‘पार्टीमा सबै किसिमका संवाद हुनुपर्यो र पार्टीलाई एकढिक्का राख्नुपर्यो भनेका छौं ।’
देउवाले महामन्त्रीहरू आफूसँग रिसाएको र बोलाउँदा पनि नआउने हुन् कि भनेर शंका व्यक्त गरेका थिए । उनले दुवै पक्ष पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै दुवैका तर्फबाट एकता कायम राख्ने भन्ने कुरा भएको विश्वकर्माले बताए ।
तर, महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीद्वय थापा र शर्मालाई पछि नहट्न बन्दसत्र हलबाट दबाब बढाएका छन् । बन्दसत्रकाे छलफलमा पार्टीमा पुस्तान्तरण र हस्तान्तरण हुनुपर्नेमा प्रतिनिधिहरू एकमत भएका छन् ।


प्रतिक्रिया