काठमाडाैं । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षा कारणले गर्दा आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ भारतमा नखेल्ने आफ्नो अडानमा अडिग रहेको बताएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँगको भिडियो कन्फरेन्सपछि बीसीबीले आज विज्ञप्ति निकालेर आफ्ना खेलहरू भारतबाहिर आयोजना गर्न अनुरोध दोहोर्याएको हो ।
भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ देखि शुरू हुने तालिका छ । तालिकाअनुसार समूह चरणमा बङ्गलादेशको पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुनेछ ।
यसैबीच आईसीसीले प्रतियोगिताको तालिका पहिले नै जारी भइसकेको र बीसीबीलाई आफ्नो अडानमा पुनर्विचार गर्न आग्रह गरेको बताएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बङ्गलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद बढेको हो ।
मुस्ताफिजुरलाई हटाइएपछि बङ्गलादेशले आफ्नो देशमा आईपीएलको प्रसारणमा प्रतिबन्धको घोषणा गरेको थियो र त्यसपछि बीसीबीले आईसीसीलाई पत्र लेख्दै बङ्गलादेश टी–२० विश्वकप खेल्न भारत नआउने बताएको थियो ।


प्रतिक्रिया