काठमाडौंमा यस वर्षकै उच्च चिसो

काठमाडौंमा यस वर्षकै उच्च चिसो



काठमाडौं । काठमाडौं उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।

यसअघि पुस २५ गते न्यूनतम तापक्रम २.४ डिग्री पुगेको थियो । पुसको दोस्रो सातादेखि नै निरन्तर ओरालो लागेको तापक्रममा थप गिरावट आएसँगै उपत्यकाबासीले अत्यधिक चिसो महसुस गरिरहेका छन् ।

तापक्रम घटेसँगै काठमाडौंका चन्द्रागिरि लगायतका क्षेत्रमा बिहानपख तुसारो परेर जमिन सेताम्मे देखिन थालेको छ। दिउँसोको समयमा घाम लाग्दा केही राहत मिले पनि बिहान र बेलुकाको समयमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ । मौसमविद्का अनुसार बढ्दो वायु प्रदूषणले पनि चिसोको प्रभावलाई थप बढाएको छ । विभागको अभिलेख हेर्दा पुसको सुरुवातदेखि नै तापक्रम क्रमिक रूपमा घट्दै गएको देखिन्छ ।

काठमाडौं मात्र होइन, देशका अन्य भागमा पनि चिसोको प्रकोप बढ्दो छ । विभागका अनुसार जुम्लामा तापक्रम माइनस ५.९ डिग्री पुगेको छ भने जिरीमा माइनस १.६ डिग्री रेकर्ड गरिएको छ । त्यस्तै दिपायलमा २.२, जोमसोममा १.५ र सिमरामा ५.९ डिग्री न्यूनतम तापक्रम रहेको छ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम सफा रहने सम्भावना छ ।

तराईका जिल्लाहरूमा भने बिहानपख लाग्ने बाक्लो हुस्सु र कुहिरोले गर्दा जनजीवन र यातायात क्षेत्र बढी प्रभावित भएको छ । हुस्सुका कारण हवाई र सडक यातायातका साथै स्वास्थ्य र पर्यटन क्षेत्रमा समेत प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । चिसो अझै केही दिन कायमै रहने भएकाले अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ ।