काठमाडौं । प्रतिनिधिसभा चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् ।
लुम्बिनी प्रदेशको रुपन्देहीबाट गएको मङ्सिर ९ गतेदेखि शुरू भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी अस्ति मधेश प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ ।
यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको जनाइएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ ।
यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ । नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ । यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदैछन् ।
नेपाल प्रहरीले दुई हजार ८ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४ सय ४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६ सय ८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ ।


प्रतिक्रिया