विशेष महाधिवेशनको दस्तावेज आयोगलाई हस्तान्तरण

विशेष महाधिवेशनको दस्तावेज आयोगलाई हस्तान्तरण



काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनले गरेको नेतृत्व चयनसहितको दस्तावेज निर्वाचन आयोगमा बुझाएका छन् ।

सभापति थापाले बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । बिहीबार सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरू आयोगमा पुगेका थिए ।

बिहीबारै बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि उनीहरू पार्टीको विवरण अद्यावधिक गराउन आयोग गएका हुन् । आयोग जानेमा थापासहित उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत पदाधिकारी छन् ।

उपसभापति शर्माले कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताए । सञ्चारकर्मीसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उनले विशेष महाधिवशेन सफल भएको दाबी गर्दै महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताए ।

उनले भने ‘नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन सफल भएको छ । यसले देशका लागि जुन दृष्टिकोण पारित गरेको छ, सँगैमा नेतृत्व पनि परिवर्तन गरिसकेको छ । यसबारेमा निर्वाचन आयोगलाई अद्यावधिक गराउन जानकारी गराएका छौँ । कांग्रेसले नै विशेष महाधिवेशन गरेर नेतृत्व चयन गर्दा पार्टी फुट्दैन ।’

उपसभापति शर्माले विशेष महाधिवेशनको म्यान्डेटबारे आयोगमा अद्यावधिक गर्न आयोगलाई जानकारी गराइएको बताए ।