महान्यायाधिवक्ताको कार्यालय कलङ्कित भयाे : ओली

महान्यायाधिवक्ताको कार्यालय कलङ्कित भयाे : ओली

‘हामी नेपालमा नेपालीको सरकार बनाउँछौ अरू बन्यो भने ढाल्छौं’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय इतिहास सम्मका लागि कलङ्कित र लज्जाको विषय भएको बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधविरुद्धको मुद्दा फिर्ता लिने निर्णयप्रति लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् ।

बिहीबार ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’नामक पुस्तक लोकार्पण समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘थिति र विधिको होइन, जसको लाठी त्यसको भैँसी जस्तो शासन चलेको छ’, उनले प्रश्न गर्दै भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ, लज्जाको विषय बनेको छ । यस्तो पनि हुन्छ ?’

आज नेपालको राजनीतिमा दुई वटा कुरामा लडाइँ चलिरहेको भन्दै प्रतिक्रियावादीहरू नेपाल र नेपालीको सरकार बनाउन नदिन लागिरहेको ओलीको भनाइ छ ।

‘उनीहरूको गन्तव्य नेपालमा नेपालीको सरकार हुनुहुँदैन भन्ने छ भने हाम्रो नेपालीकै सरकार हुनुपर्दछ विदेशीको सरकार हुनुहुँदैन भन्ने छ’, ओलीले भने- ‘नेपालीकै सरकार हुनुपर्छ भन्नेहरूको घर छानिछानी आगो लगाइएको, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जलाइएको तथा राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्छ भन्ने व्यापारीहरूलाई लखेटिएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विदेशीको योजनाअनुसार अभियुक्तहरूको अभियोग परिवर्तन गरिएको भन्दै दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ भनेर प्रश्न गरे । ‘महान्याधिवक्ता कार्यालयले तिर्छ ? हामी नेपालमा नेपालीको सरकार बनाउँछौ अरू बन्यो भने ढाल्छौँ’, ओलीको भनाइ छ ।