महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने

महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने



काठमाडौं । आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने भएको छ । नेपालमा आयोजना हुन लागेका अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा १० राष्ट्र सहभागी छन् । प्रतियोगिता आइतबार सुरु हुँदै छ ।

नेपाल महिला क्रिकेट टिमले पहिलो पटक ग्लोबल छनोट खेल्दै छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स छ । समूह ‘ए’ मा बांङ्लादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मूलपानीको माथिल्लो मैदानमा प्रतियोगिताका खेल हुनेछ । पहिलो दिन आइतबार कीर्तिपुरमा बिहान नेपाल र थाइल्यान्ड, दिउँसो जिम्बावे र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । आइतबारै मूलपानीमा अमेरिकाले बांङ्लादेश र आयरल्यान्डले पीएनजीविरुद्ध खेल्नेछ । नेपालका सबै खेल कीर्तिपुरमा हुनेछ ।

समूहका शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष चारमा रहने टिमले इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी-२० विश्वकपमा स्थान बनाउने छन् ।