काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्विकृती दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
शुक्रबार युवराज पौडेल (सफल), कानुनका विद्यार्थी आयुष बडाल लगायतले लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् ।
सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरुले अध्ययन गरिरहेका छन् । पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम पनि रहेको भन्दै कामकारवाही अघि नबढाउन अन्तरिम आदेश पनि माग गरेका छन् ।
पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।
यो निर्णयलाई निवेदक सफलले गैरकानुनी बताउँदै मान्यता पाउन र कार्यान्वयन हुन नसक्ने उल्लेख गरेको छ । उनले निवेदनमा उक्त निर्णयलाई बदर गर्न माग गरेका छन् ।


प्रतिक्रिया