काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताएकी छन् ।
आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेटको क्रममा उनले देश चुनावमा होमिएको बताइन् । उनले भनिन्, ‘मुलुक चुनावमा होमिएको छ । यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो। भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ । अब बारम्बार यो अवस्था दोहोरिनु हुँदैन ।’
युवाको आकांक्षाअनुरुप आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउन आग्रह गरिन् । उनले भनिन्, ‘पुरानो मानसिकताले अब देश चल्दैन । पुरानो सोच र शैलीले पनि चल्दैन । अब नयाँ नै आउनुपर्छ, युवा आउनुपर्छ र इमानदार आउनुपर्छ । युवाको भावनाअनुसार शासन चल्नुपर्छ ।’
चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘विगतमा पैसाको खेल भयो भन्ने गुनासो छ । भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनुपर्छ । मतदाता पनि यसमा चनाखो बन्नुपर्छ ।’


प्रतिक्रिया