वार्मअप खेलमा नेपाल अमेरिकासँग पनि पराजित

वार्मअप खेलमा नेपाल अमेरिकासँग पनि पराजित



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको दुई वटै वार्मअप खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भयो ।

नेपालले दिएको १ सय ३७ रनको लक्ष्य अमेरिकाले १९ ओभर १ बलमा भेटायो । अमेरिकाकी चेतना रेड्डीले नटआउट ५६ रन बनाइन् । नेपालका सुमन विष्ट, रिया शर्मा र रुबिना क्षेत्रीले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनायो । नेपालका विन्दु रावलले २७, सम्झना खड्काले २४, कविता जोशीले २० रन बनाइन् । अमेरिकाकी तरनुम चोपडाले ३ विकेट लिए ।

नेपाल पहिलो वार्मअप खेलमा आयरल्यान्डसँग ९९ रनले पराजित भएको थियो ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट पर्सिदेखि नेपालमा शुरू हुँदैछ । प्रतियोगिताका खेलहरू त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन् । समूह चरणमा नेपालका चार वटै खेल त्रिवि मैदानमा हुनेछन् ।

तालिकाअनुसार नेपालले पहिलो खेलमा माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।