रवि, जिबी सहित सबै प्रतिवादीको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न स्वीकृति

रवि, जिबी सहित सबै प्रतिवादीको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न स्वीकृति



काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका रवि लामिछाने, जिबी राई लगायत सबै प्रतिवादीमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोग संशोधन गरी मुद्दा फिर्ता लिन स्विकृति दिएकी छन् ।

महान्यायाधिवक्ता भण्डारीले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न लगाएका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता हुने गरी अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी थिइन् ।

त्यही प्रकरणमा शुक्रबार उनले जीबी राई, छविलाल जोशी वञ्जाडे, कुमार रम्तेललगायत मुछिएको सबै प्रतिवादीको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता हुने गरी संशोधन गर्ने निर्णय गरेकी हुन् ।

स्रोतका अनुसार मुद्दा संशोधन अघि रास्वपा सभापति लामिछाने महहान्यायाधिवक्ता भण्डारीलाई भेट्न रामशाहपथ स्थित विभागमा पुगेका थिए ।

‘रास्वपा सभापति लामिछाने साढे १ बजे महान्यायाधिवक्ताको कार्यालयमा आउनुभएको थियो । महान्यायाधिवक्ता ज्युसँग लामो छलफल पनि भएको थियो । संभवतः लामिछाने अरु प्रतिबादीको हकमा मुद्दा संशोधनका लागि निवेदन लिएको गएको हुनसक्छ,’ स्रोतले भन्यो ।