पोखरा विमानस्थलमा भ्रष्टाचार : विशेष अदालतको आदेशविरुद्ध सर्वाेच्च पुग्यो अख्तियार

पोखरा विमानस्थलमा भ्रष्टाचार : विशेष अदालतको आदेशविरुद्ध सर्वाेच्च पुग्यो अख्तियार



पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा निवेदन दिएको छ ।

अख्तियारले विशेष अदालतको आदेश बदर गरि प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै आज सर्वाेच्चमा निवेदन दिएको हो । गएको मङ्सिर र पुस विशेष अदालतले गरेको थुनछेक आदेश त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ ।

विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख, मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिँदै अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेललाई साधारण तारेखमा रिहा गरेको थियो ।

पोखरा विमानस्थल निर्माणमा ८ अर्ब रुपैयाँभन्दा धेरै भ्रष्टाचार गरेको आरोपमा अख्तियारले ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । यस्तै एउटा चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।