गोरखा छाडेर मधेसबाट चुनावी लड्दै नारायणकाजी

गोरखा छाडेर मधेसबाट चुनावी लड्दै नारायणकाजी



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस प्रदेशको सर्लाही जिल्लाका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ ।

नेकपाबाट सर्लाही क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादव प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् ।

पार्टीका अनुसार सर्लाही क्षेत्र नम्बर ४ बाट शिवपुजन यादवका छोरा अभिनाष यादवको नाम टुंगो लागेको छ । यस्तै क्षेत्र नम्बर १ मा भने सुरेश काफ्लेको नाम चर्चामा रहेको छ ।

यस पटक नारायणकाजी गोरखा छाडेर मधेस प्रदेशको चुनावी मैदानमा उत्रिएका हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । हाल उनी राष्ट्रिय सभा सदस्य छन् ।

गोरखा २ मा नेकपाले लेखनाथ न्याैपानेलाई उम्मेदवार बनाएकाे छ । २०७९ काे प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।