काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सार्न दलहरूले निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार पर्सि मनोनयन दर्ता तोकिएको छ ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय सार्न आग्रह गरेका हुन् । यद्यपि निर्वाचन आयोगले अहिलेसम्म समय सार्ने विषयमा निर्णय नगरेको र छलफलकै क्रममा रहेको जनाएको छ ।
मुख्यगरि कांग्रेसको विवादले मिति सार्न निर्वाचन आयोग दबावमा परेको छ । कांग्रेसको शेरबहादुर देउवा पक्षले आज सर्वोच्च अदालतमा रिट दायर गरेकोमा पर्सि सुनुवाइको पहिलो पेशी पाएपछि देउवा पक्ष उम्मेदवारी दर्ताको मिति सार्नुपर्ने भन्दै आयोग पुगेको छ ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको र त्यसमा चित्त नबुझेपछि आफूहरू अदालत गएकोमा अदालतबाट सुनुवाइपछि मात्र मनोनयनको व्यवस्था मिलाउनुपर्ने आयोगलाई भनेको देउवा पक्षका नेताहरूले बताएका छन् ।


प्रतिक्रिया