बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने

बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने



काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार हुन लागेका हुन् ।

‘मलाई बिदा गर्नुहोस् न भनेर मैले भनेको हुँ तर यहाँ (गोरखा) मा साथीहरूले निकै जोडबल गर्नुभयो, एकचोटि त उठ्नुपर्‍यो, कामहरू बाँकी छन् भन्नुभयो,’ भट्टराईले भने, ‘आम मतदाता र अरू पार्टीका साथीहरूको पनि सुझावअनुसार ठिकै छ नि त भनेर चुनाव उठ्ने निर्णयमा पुगेँ ।’

प्रलोपाबाट आँखा चुनाव चिह्नमा आफू निर्वाचन लड्ने पनि उनले जानकारी दिए । पूर्वप्रधानमन्त्री भट्टराई आज गोरखा गएका थिए । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेताहरूले भट्टराईलाई चुनाव लड्न सुझाव दिएका थिए ।

प्रलोपाको भेलाले पूर्वप्रधानमन्त्री तथा पार्टीका संरक्षक भट्टराईलाई गोरखा २ बाट उम्मेदवार बनाउने निर्णयसमेत गरेको छ ।

भट्टराई २०६४ र २०७४ सालमा गोरखा २ बाट उम्मेदवार भई विजयी भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचन भने उनले गोरखा १ बाट विजयी भएका थिए ।