संघीयता अझै बलियो बनाउँछु : बालेन शाह

संघीयता अझै बलियो बनाउँछु : बालेन शाह

‘माइतीघरमा उखु किसान र मिटरब्याज पीडितले आन्दोलन गर्दा मुकदर्शक बन्नुपर्‍यो’



काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सङ्घीयता अझै बलियो बनाउने बताएका छन् । सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभामा उनले मैथिलीमा भाषण गर्दै सो कुरा बताएका हुन् ।

रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् । उनले मधेसबाट काठमाडौँ पशुपति घुम्न जाने भन्दै उनले अधिकार माग्न जानु नपर्ने बताए ।

वरिष्ठ नेता बालेनले आफू ४ वर्षसम्म काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका समस्या समाधान गर्न नसकेर मुकदर्शक बन्नुपरेको बताए । उनले माइतीघर मण्डलामा उखु किसानदेखि मिटरब्याज पीडितसम्मको आन्दोलन हुँदा पनि मुकदर्शक बनेर बस्नुपरेको बताएका हुन् ।

‘म करिब ४ वर्ष काठमाडौंको मेयरको रुपमा बसेँ । कोही मान्छेको भेट पनि गरिनँ । दैनिक माइतीघरमा मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । हामी मुकदर्शक भएर बस्नुपरेको थियो,’ उनले भने ।

उनले काठमाडौंको मेयरको रुपमा त्यतिबेला केही गर्न नसकेको स्वीकार गरे । काठमाडौंको मेयरका रुपमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्‍याएको बताउँदै प्रधानमन्त्री हुँदा के के गर्न सकौंला ? भन्दै प्रश्न गरे ।

‘काठमाडौंको मेयरको रुपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?,’ बालेनले भने ।

रास्वपाको तर्फबाट पहिलो चुनावी सभामा बालेनले जनकपुरमा मैथिलीमा भाषण गरेका हुन् ।