काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब सबैभन्दा धेरै भोट ल्याउने पार्टी बनाएर संसदमा जाने बताएका छन् ।
सोमबार जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद बन्दा आफूलाई छलछाम गरेर हटाइएको बताए ।
उनले भने, ‘चितवनको जनताले मलाई सबैभन्दा धेरै भोट दिएर पठाएका थिए, मलाई छलछाम गरेर संसदबाट निकालियो । हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौँ ।’
उनले आफू जनताको मुद्दा बोकेर हिँडेको भन्दै आफूमाथि लागेको मुद्दाको प्रवाह नभएको बताए । देशले बालेन पाएकाले आफू जेल गए पनि फरक नपर्ने उनको भनाइ छ ।
लामिछानेले भने, ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दा मलाई कुनै पनि दिन जेल पुर्याउला मलाई अब चिन्ता छैन किनकि देशले बालेन पाएको छ ।’
उनले मधेसले उन्नत बिउ रोपेको र अहिलेको अवस्थालाई ‘हिलोको बिउ’ भएको संज्ञा दिँदै मधेसले आफ्नो सपना खोसेर लिने बताए ।
लामिछानेले बालेन शाहसँगको भेटबारे पनि प्रकाश पारे । ‘जुन दिन बालेनजी र मेरो भेटघाट भयो । भोलिपल्ट बिहान मेरो स्वर्गीय आमासँग कुरा गरेँ । बालेनजीले मेरो सपना सोध्नुभयो । मैले बताएँ । मैले पनि सोधेँ,’ उनले भने । भेट भएको पाँच मिनेटमै आफूहरूले सहमति गरेको दाबी गर्दै देशको हितलाई केन्द्रमा राखेकाले धेरै वार्ता गर्न आवश्यक नभएको उनले बताए ।


प्रतिक्रिया