तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान



काठमाडौं । निर्वाचन आयोगले आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावकाे प्रत्यक्षतर्फ आज तोकिएको समयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ ।

आयाेगका सचना अधिकारी सुमन घिमिरेले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले चाहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गइ उम्मेदवारी दर्ता गर्न अनुरोध गरेका हुन् । मनोनयन पत्रसँगै फारम भरेर पेश गर्न पनि उनले अनुरोध गरे । फारम आयोगको वेबसाइटमै राखिएको छ । आयोगको वेबसाइटमा ‘वर्ड डकुमेन्टको फाइल’ पनि राखिएको जानकारी सूचना अधिकारी घिमिरेले दिए ।

मनोनयन पत्रसँगै स्वघोषणा पत्र, निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसारको प्रतिबद्धता पत्र, व्यक्तिगत विवरण र सम्पत्ति विवरण पनि तयार पारेर पेश गर्न आयोगले उम्मेदवार बन्न चाहने सबैलाई ध्यानाकर्षण गराएको छ । त्यसैगरि धरौटी बुझाएको रसिद पनि मनोनयन पत्रसँगै राखेर पेश गर्न आयोगले आह्वान गरेको छ ।

आज बेलुकी ५ बजेसम्म १ सय ६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा पुगि उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिएर लाममा बस्नेलाई दर्ता गर्न दिइने आयोगको सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि आह्वान गरिसकेको छ । आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम छ ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरि त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।