आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले अनुसन्धान गरी कारबाही गर्ने

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले अनुसन्धान गरी कारबाही गर्ने



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।

आयागमा आएको उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरितका कार्य गर्नेलाई कारबाही गर्ने घिमिरेले जानकारी दिए ।

निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला सबैको सहमतिमा जारी गरिएको उनको भनाइ छ । उनका अनुसार आचारसंहिताको पालना गराउने र उल्लंघन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ ।

निर्वाचन आचारसंहिता राजनितिक दल, उम्मेद्वार र मतदाता सबैले पालना गर्नुपर्ने उनको भनाइ छ । साथै, मंगलबार (माघ ६) मनोनयनका क्रममा केही आचारसंहिताविपरीतका कार्य भएको भन्दै ती कार्य आयोगको ‘नोटिस’मा रहेको बताए ।

उनले भने, “आचारसंहिता कार्यन्वयन नभएको अवस्थामा आचारसंहिता विपरितका गतिविधिहरु भएको अवस्थामा त्यसलाई कसरी नियमित गर्ने भन्ने सम्बन्धमा आयोगले पहिले नै तयारी गरिसकेको छ । निर्वाचन क्षेत्रस्तर, जिल्लास्तर, केन्द्रस्तरसम्म निर्वाचन आयोगका संयन्त्रहरु स्थापित भइसकेको अवस्था छ । उहाँहरूले दिएको रिर्पोटका आधारमा आयोगले अध्ययन गरेर त्यसलाई कुन किसिमको, कुन लेभलको कारबाही अगाडि बढाउनुपर्छ, त्यो गर्ने आयोगको तयारी छ, आयोगले त्यसरी नै गर्छ ।”

कार्यतालिकाअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । प्राप्त उजुरीको निर्वाचन अधिकृतको कार्यालयमा छानबिन गरी संविधान, कानून तथा निर्वाचनसम्बन्धी व्यवस्थाअनुसार उमेदवारको योग्यता परीक्षण गरिने सूचना अधिकारी घिमिरेको भनाइ छ । अयोग्य ठहरिएका उम्मेदवारको नाम सूचिबाट हटाई पुनः संशोधित नामावली सार्वजनिक गरिनेछ ।

यस्तै, उमेदवारी फिर्ता लिन चाहने उमेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निवेदन दिन सक्नेछन् ।

निर्वाचन आचारसंहिताअनुसार फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्म औपचारिक चुनावी प्रचारप्रसार गर्न पाइनेछ । मौन अवधि फागुन १८ गते रातिदेखि लागू हुनेछ । सो अवधिभन्दा अघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भएपनि जुलुस, र्‍याली र आमसभा गर्न आचारसंहिताले निषेध गरेको उनले बताए ।

मौनअवधि फागुन १८ गते राति सुरु हुन्छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर मंगलवार उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका थिए । १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचन हुँदैछ ।