सुरक्षा व्यवस्था थप सुदृढ बनाउन जिल्ला सुरक्षा समितिलाई सरकारको निर्देशन

सुरक्षा व्यवस्था थप सुदृढ बनाउन जिल्ला सुरक्षा समितिलाई सरकारको निर्देशन



काठमाडौं । सरकारले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरवारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल, उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो । निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानूनी भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा चारवटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा भएको थियो । निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पारित भई एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ कार्यान्वयनमा रहेको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनका लागि तोकिएको छ ।