काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ ।
आयोगका अनुसार हालसम्म १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने बाँकी मतपत्र छपाइ आगामी दुई दिनभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।
आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरको कुल मतदाता संख्या करिब १ करोड ८९ लाख रहेको जानकारी दिँदै सो संख्याभन्दा करिब सात प्रतिशत बढी मतपत्र छाप्ने निर्णयअनुसार छपाइ भइरहेको बताए ।
उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचन चिह्न वितरण सम्पन्न भएपछि मतपत्रको डिजाइन तयार गरी त्यसको छपाइ प्रक्रिया सुरु गरिनेछ । समानुपातिक प्रणालीको मतपत्र देशभर समान रहने भए पनि प्रत्यक्षतर्फका मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक-फरक हुने व्यवस्था गरिएको छ । आयोगले चालु महिनाभित्र सम्पूर्ण मतपत्र छपाइ सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ ।


प्रतिक्रिया